विद्यामन्दिर पुस्तकालयको आयोजनामा सृजनात्मक लेखन कार्यशाला सुरु

बाग्लुङ | भदौ १३, २०८१

विद्यामन्दिर पुस्तकालयको आयोजनामा सृजनात्मक लेखन कार्यशाला सुरु

बागलुङ:  विद्यालय उमरेका बालबालिकामा लेखन सीप अभिवृद्धिका लागि बागलुङ सदरमुकाममा सृजनात्मक लेखन कार्यशाला बुधबारदेखि सुरु भएको छ । 


विद्यामन्दिर पुस्तकालय, बागलुङको आयोजनामा बिहीबारसम्म सञ्चालन हुने कार्यशालाको बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले उद्घाटन गर्नुभयो । 


उहाँले बालबालिकाको सृजनात्मक र मनोवैज्ञानिक विकासमा कार्यशालाले मद्दत पु¥याउने विश्वास व्यक्त गर्नुभयो । नगरप्रमुख श्रेष्ठले बागलुङ नगरपालिकालाई बालमैत्री नगर घोषणको तयारी भइरहेको बताउनुभयो । 


कार्यक्रममा पुस्तकालय संरक्षक समितिका सदस्य प्रेम छोटा, पूर्वअध्यक्ष श्यामप्रसाद श्रेष्ठ, विद्यामन्दिर माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुलाल शाक्य, एनप्याब्सन बागलुङ नगर अध्यक्ष चन्द्रबहादुर क्षेत्रीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।  


कार्यशालामा सामुदायिक र निजी विद्यालयका गरी ६० जना बालबालिका सहभागी रहेका छन् । कार्यशालामा बाल साहित्यकार यशु श्रेष्ठले कथा, निबन्ध, कवितालगायत विधामा सृजनात्मक लेखन र प्रयोगबारे अभ्यासमूलक प्रशिक्षण दिने पुस्तकालयले जनाएको छ । 


बालबालिकामा मोबाइलको नकारात्मक लत न्यूनीकरण गरी सकारात्मक सिकाइमा मोबाइलको सदुपयोगबारे पनि अभिमुखीकरण गरिने पुस्तकालयका सचिव राजनप्रसाद शर्माले बताउनुभयो । 


विद्यालय तहमा अध्यापन गर्ने शिक्षकलाई शिक्षणमा कथावाचनको महत्व र प्रयोगका विषयमा पनि प्रशिक्षित गरिने उहाँको भनाइ छ । “विद्यालय उमेरका बालबालिकामा सृजनात्मक क्षमता अभिवृद्धिका लागि कार्यशाला आयोजना गरिएको हो”, उहाँले भन्नुभयो, “कार्यशालाले लेखन सीपसँगै बालबालिकाको अभिव्यक्ति कलासमेत विकास हुने हाम्रो विश्वास छ ।”


१७औँ राष्ट्रिय पुस्तकाल दिवसको अवसरमा प्याब्सन, एनप्याब्स, विद्यामन्दिर माध्यमिक विद्यालय र बागलुङ जेसीजसँगको सहकार्यमा पुस्तकालयले कार्यशाला आयोजना गरेको हो । ‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ भन्ने आदर्श वाक्यसहित यही भदौ १५ गते मनाइने उक्त दिवसलाई पाँच दिवसीय कार्यक्रमसहित मनाउन लागिएको पुस्तकालयका सचिव शर्माले बताउनुभयो । 


दिवसका अवसरमा मङ्गलबार पुस्तकालय परिसर सरसफाइसहित सदरमुकामका चोकमा दिवसको प्रचारात्मक ब्यानर प्रदर्शन गरिएको थियो ।  शुक्रबार पुस्तकालय दिवससँग सम्बन्धित शीर्षकमा बागलुङ नगरपालिकास्थित माध्यमिक विद्यालयस्तरीय निबन्ध लेखन प्रतियोगिता आयोजना गरिएको पुस्तकालयले जनाएको छ । सोही दिन पुस्तकालयको बालविकास केन्द्रमा रहेका बालबालिकाको निःशुल्क स्वास्थ्य परीक्षण तथा शैक्षिक सामग्री वितरण गरिने भएको छ ।


दिवसका सन्दर्भमा जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा प्रयोग हुने गरी पुस्तक उपहार दिने कार्यक्रमसमेत तय गरिएको छ । भदौ १५ गते सम्मान र पुरस्कार वितरणसहित मूल समारोह आयोजना गरिएको सचिव शर्माले जानकारी दिनुभयो । 


सोही समारोहमा पुस्तकालयको विभिन्न पदमा रही झण्डै ४० वर्षसम्म सेवा पु¥याउनुभएका पुस्तकालयका संरक्षक समिति सदस्य एवं पूर्वअध्यक्ष हरिहर श्रेष्ठलाई दीर्घ सेवा सम्मान प्रदान गरिने भएको छ । 


विसं २००३ सालमा स्थापना भएको देशकै अग्रणीमध्येको विद्यामन्दिर पुस्तकालय राणाकालको प्रतिकुल समयमा खुलेका कारण पनि यसको अलग पहिचान छ । 


धवलागिरि क्षेत्रको शैक्षिक, सामाजिक र राजनीतिक जागरणको केन्द्रका रुपमासमेत यस पुस्तकालयलाई लिने गरिन्छ । स्थापनाकालमा काठमाडौँ उपत्यका हुँदै भारतको दिल्ली, गोरखपुरसम्मबाट भरिया लगाएर ल्याइएका पुस्तक सङ्ग्रह गरेर सुरु गरिएको पुस्तकालयमा अहिले विभिन्न विधा र भाषाका गरी करिब १७ हजार बढी पुस्तक छन् । 


पुस्तकालयमा विद्युतीय पुस्तकालय (ई–लाइब्रेरी) पनि सञ्चालित छ । प्रारम्भिक चरणमा विद्यालयको कोठा हुँदै सार्वजनिक पौवामा चलेको पुस्ताकालयले अहिले आफ्नै सुविधासम्पन्न भवनबाट सेवा दिँदै आएको छ ।


 यस पुस्तकालयका संस्थापक दिवङ्गत ओमप्रसाद गौचन र मेघकुमार वैद्य हुनुहुन्छ । पुस्तकालयमा छुट्टै बाल पुस्तकालय स्थापनाको तयारी अगाडि बढेको छ । कार्यशालाको उद्घाटन सत्र पुस्तकालयका अध्यक्ष राम थापा ‘अविरल’को अध्यक्षता, उपाध्यक्ष रामचन्द्र शर्माको स्वागत र सचिव राजनप्रसाद शर्माको सञ्चालन सम्पन्न भएको थियो ।

पोखरा:   नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले स्थापना गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सामाजिक अभियान्ता सरिता गुरुङले आर्थिक सहयोग गरेकी छन् ।    सामाजिक क्षेत्रमा...

थप पढ्नुहोस्

काठमाडौ:   सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नेपाली सेनालाई एक महिनाअघिबाट परिचालन गर्ने भएको छ।   एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ ले स्वीकृत गरेक...

थप पढ्नुहोस्

मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् ।   रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

थप पढ्नुहोस्